असोज ३ गते नेपाल बन्द

असोज ३ गते नेपाल बन्द

शान्ति सम्झौता भंग भयो : विप्लव माओवादी

२९ भदौ, काठमाडौं, संविधानसभाले शान्ति सम्झौता भङ्ग गरेको घोषणा गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तीनदलले जवरजस्त जनविरोधी संविधान जारी गर्न लागेको भन्दै माओवादीले असोज ३ गते नेपाल बन्द गर्ने घोषणासमेत गरेको छ । ‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाइते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहनाको ठीक विपरीत छ’ पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनरत पक्षको कुराको सुनुवाइ नगरी जबरजस्त संविधान घोषणा गर्न लागिएको भन्दै विप्लव माओवादीले माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको छ ।

Source: Online Khabar