आन्दोलनकारीले महोत्तरीमा बस र ट्रक जलाए

संघीयताको सीमांकनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार राति रात्री बस  र ट्रकलाई जलाएका छन्।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले बर्दिबास नगरपालिका ५ स्थित लक्ष्मिनियाँ जंगलमा चन्द्रनिगाहपुरतर्फ जाँदै  गरेको ना.४ख. ३०६७ नम्बरको बस र ना.४ख.४२७३ नम्बरको ट्रकमा आगजनी गरेका छन्।

१०/१२ जनाको समूहमा गएका मार्चाका कार्यकर्ताहरुले बस र ट्रक दुवैका चालकलाई नियन्त्रणमा लिई बस र ट्रकमा आगजनी गरेका थिए भने आगजनीबाट  बस र ट्रक पूर्णरुपेन क्षतिग्रस्त भएको छ।

बसमा आगो बलिरहँदा आन्दोलनकारीले बस र ट्रकका चलाकको नगद तथा सामानहरु लुटपाट गरेका छन्।

बस र ट्रकमा आगजनी पश्चात बर्दिबासदेखि बाँके खोलासम्म २५ किलोमिटर महोत्तरीको सिमामा ईलाका प्रहरी कार्यालय बर्दिबासले हतियारधारी सुरक्षाकर्मी खटाएको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए।
Source: Seto Pati