औचित्यहीन’ सर्वदलीय बैठक

लाखौं नेपालीका लागि महाविपत्ति निम्त्याएको विनाशकारी भूकम्प आएको सातौै दिन शुक्रबार साँझ सरकारले बोलाएको सर्वदलीय बैठक ‘औचित्यहीन’ बनेको सहभागी नेताहरुले बताएका छन्।
बैठकमा सरकारले सामान्य जानकारी गराएको र संभावित एकीकृत प्रयासबारे कुनै कुराकानी नभएको सहभागी राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी बताउँछन्।
सत्ताधारी नेताले भने शुक्रबार साँझको बैठक प्रारम्भिक भएको र सबै दलका सुझावहरु सुनिएको बताएका छन्।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले तथा एनेकपा माओवादीका शीर्ष नेताहरु, मन्त्रीहरु र संविधान सभामा प्रतिनिधित्व गर्ने सबैजसो दलका प्रमुख नेताहरु उपस्थित थिए।
औचित्य
बैठक बस्ने जानकारीपछि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकबाट हतार हतार सर्वदलीय बैठकमा पुगेका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी भन्छन्-“सन्चारमाध्यममा जे आइरहेको छ त्यही कुरा सरकारका विभिन्न मन्त्रीले सुनाए। आफ्नो कुरा राख्न पनि पाइएन।”
सरकारलाई सुझाव दिउँला भनेर गएका उनी बैठक पुरा हुञ्जेल पनि आफू टिक्न नसकेको बताउँछन्।
उनी भन्छन्- “सबभन्दा पहिले शेरबहादुर देउवा त्यसपछि माधव नेपाल, के पी ओली लगायतका नेताहरु एकपछि अर्को हिँडेपछि बैठकको औचित्य देखिन। बरु संसदको बैठक बोलाए हुन्थ्यो।”
बैठकमा सहभागी एमाओवादीका एक शीर्ष नेताले पनि बैठकको रवैया देखेर प्रधानमन्त्रीसँग गुनासो पोखी बैठक सकिनुअघि बाहिरिएको बताएका छन्।
प्रारम्भिक
तर प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल बैठक प्रारम्भिक भएको बताउँछन्।
उनी भन्छन्, “सरकारले गरिरहेका प्रयत्नहरुबारे बताउन र दलका सुझाव सुन्न बैठक बोलाइएको थियो। त्यो भयो।”
राहत नआइपुगेकाले खुला आकाशमुनि मानिसहरु सातदिनदेखि नुन पानी खाएर बाँचिरहेको खबरहरु आइरहेका बेला सरकारले बोलाएको सर्वदलीय बैठकले राहत र उद्धारमा राजनीतिक दलहरुलाई कसरी परिचालन गर्ला भनेर कैयौंले चासोका साथ हेरेका थिए।
बीबीसीकी काठमाडौंस्थित सवाददाता भन्छिन्, दलकै नेताका भनाइमा औपचारिकतामा सीमित सर्वदलीय बैठकले सहभागी ति नेताहरुलाई त झस्कायो नै पीडितहरुका लागि राहतको पुलिन्दा ल्याउन सकेन।
source:bbc

Leave a Reply