कुरै नबुझी भूकम्पविदलाई हावादारी करार गर्न खोजियो

-डा. दीपकराज भाट

अब नेपालमा ठूलो भूइँचालो जाँदैन भन्ने भूकम्पविदको दाबी त हावादारी देखियो नि होइन ?

हचुवाका भरमा कसैलाई हावादारी करार गर्नु राम्रो होइन । भूकम्पविदले भनेका कुरा असत्य होइनन् । जे भनेको हो त्यही भइरहेको छ । वैशाख १२ गते ७. ८ रेक्टर स्केलको भूकम्प गएको थियो । २९ गते गएको ६. ८ रेक्टर स्केलको पराकम्पन पहिलोको तुलनामा सानो हो । अर्को कुरा नेपालमा वैशाख १२ मा गएको भूकम्पलाई महाभूकम्प भनिँदैन । त्यसलाई ठूलो वा शक्तिशाली भूकम्प भन्न सकिएला ।

किन महाभूकम्प भनियो त ?

अन्तर्राष्ट्रिय प्रचलनमा सामान्यतयाः ८ रेक्टर स्केलभन्दा माथिकोलाई महाभूकम्प भन्ने गरिएको छ । मेरो विचारमा धेरै जनधनको क्षति भएको हुनाले महाभूकम्प वा प्रलयकारी भूकम्प भनिएको होला । खासमा यो भूकम्पलाई महाभूकम्प भन्न नपाइने हो ।

तपाईंहरुले आउँदैन भनेको भएर मानिसहरु ढुक्कले घरमा बसे, फेरि ठूलै भूकम्प आएर डेढ सयको हाराहारीमा ज्यान गयो । आफूलाई विज्ञ दाबी गर्नेले त्यसको नैतिक जिम्मेवारी लिनुपर्दैन ?

मैले कहीं पनि नेपालमा अब भूकम्प आउँदैन भनेर ठोकुवा गरेको छैन । सायद अरु कसैले पनि गरेका छैनन् । त्यस्तो भविष्यबाणी गर्न पनि सकिँदैन । हामीले भनेको मात्र के हो कम्तिमा अबको ८० देखि एक सय वर्षसम्म ८ रेक्टर स्केल बराबरको भूकम्प जाँदैन ।

अहिलेसम्मको अध्ययनका आधारमा त्यो स्तरको भूकम्पका जानका लागि शक्ति सञ्चय हुन ८० देखि एक सय वर्ष लाग्ने गरेको छ । ठूलो भूकम्प गइसकेपछि फेरि त्यत्रै भूकम्प आउने सम्भावना मात्र २ प्रतिशत हुन्छ । ९८ प्रतिशत सम्भावना भनेको भूकम्पपछिको पराकम्पन पहिलाको भन्दा सानै आउने हुन्छ ।

त्यसो भए अब ७. ८ रेक्टरभन्दा माथिको भूकम्प आउने सम्भावना छैन ?

आउन सक्छ । सिद्धान्ततः भूकम्पका बारेमा ठोकुवा गरेर भन्न सकिँदैन । तर त्यसको सम्भावना मात्र १ प्रतिशत हुन्छ । जापानमा सन् २०११ मा समुन्द्रलाई केन्द्रबिन्दु बनाएर अहिलेसम्मकै ठूलो ९ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पछि आएको सुनामीले सान्दाई सहर बगायो । त्यहाँ पनि ४ रेक्टरमाथिका ९ सय, ६ रेक्टर स्केलभन्दा ठूला ६० वटा र ७ भन्दामाथि ८ भन्दा तलका तीन वटा पराकम्पन आएका थिए ।

तर ९ भन्दा माथि त गएन ? जापानमा त्यसलाई आफ्टर सक नै भनियो । भएको पनि त्यही नै हो । नेपालमा जसले जे भने पनि नयाँ भूकम्प होइन । आफ्टर सक गएको हो ।

तर, फेरि ठूलो भूकम्प आउँछ भन्ने हल्ला व्यापक सुनिन्छ त ?

यो बेकारको कुरा हो । कोही पनि त्यसको पछि लाग्न जरुरी छैन । संसारमा कसैले पनि भूकम्पको भविष्यबाणी गर्न सक्दैन । भूकम्पका बारेमा पूर्वानुमान गर्ने प्रविधिको विकास भएको पनि छैन ।

तपाईंले जति ठूलो भूकम्प आउँदैन भने पनि मानिसहरु काठमाण्डु छाडेर बाहिरिने क्रम अझै रोकिएको छैन ?

काठमाण्डु छाडेर अन्त कतै गएर सुरक्षित हुन्छु भन्नु भ्रम हो । काठमाण्डुबाहिर पनि त भूकम्पले मानिस मरिरहेका छन् । बरु तुलनात्मक रुपमा काठमाण्डु बढी सुरक्षित देखियो । अहिले जति पनि मानवीय क्षति भएको छ, त्यो केही भागदौडका क्रममा र अधिकांश भौतिक संरचनाले थिचेर भएको छ ।

अन्यत्रको भन्दा काठमाण्डुकै संरचना बलियो देखियो । तर मानिसहरु मनोवैज्ञानिक असरका कारण काठमाण्डु छाडिरहेका छन् । भूकम्पपछि चाहिने मनोवैज्ञानिक परामर्श कम भएर त्यस्तो भएको हो ।

विज्ञहरुले काठमाण्डुमा भूकम्पले धेरै क्षति गर्न सक्ने आंकलन गर्दै आएका थिए । तर, जनघनत्वको तुलनामा कम क्षति भयो किन होला ?

पहिलो कुरा त त्यो काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्प जाँदा हुने क्षतिको आंकलन थियो जस्तो लाग्छ । केही संस्थाले गरेको सिरर्चको निष्कर्ष काठमाण्डु केन्द्र बिन्दु भएको ८ रेक्टर स्केलको भूकम्प गए ठूलो क्षति हुन सक्छ भन्ने थियो । तर काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्प गएन । वैशाख १२ गतेयता काठमाण्डु केन्द्रबिन्दु भएको ४ रेक्टर स्केलको एउटा मात्र पराकम्पन मापन भएको छ ।

काठमाण्डुका ८० प्रतिशत संरचना कमजोर छन् भनिएको थियो । तर, भनिएभन्दा संरचना बलिया देखिए । भूकम्प आउँदा माटो र संरचनाको कारणले बढी क्षति हुने हो । कुनै बेलाको ताललाई माटोले पुरेर बस्ती विकास गरिएको हुनाले काठमाण्डुको माटो कमजोर छ भनिएको थियो । तर सबैतिर कामजोर माटो रहेनछ भन्ने देखियो ।

कतै कमजोर र कतै बलियो पनि रहेछ । जस्तो बालाजु, सीतापाइला, माछापोखरी, गोंगबु, कपन, कौशलटार तथा बागमति र विष्णुमति खोलाका किनाराका स्थानहरुमा माटो कमजोर देखियो । तर अन्यत्रको माटो सोचिएभन्दा बलियो भेटियो । अर्को कारण शनिबार भएकाले पनि कम क्षति भयो भन्नुपर्छ ।

माटो कतैको बलियो र कतैको कमजोर भन्ने आधार के ?

मैले जुनजुन स्थानको माटो कमजोर रहेको बताएँ, ती स्थानमा बढी घरहरु भत्किएका छन् । जति घर ढलेका छन्, ती ‘स्टक्चर फेल’ भएर होइन, भासिएका छन् । घरको संरचना केही भएको छैन । जगै भासिएर गएको छ । कतै जमिनमा चिरा परेको छ । माटो कमजोर भएका कारणले त्यसो भएको हो ।

घर बनाउनुअघि माटो कमजोर वा बलियो छ भन्ने कसरी थाहा पाउने ?

घर बनाउनुभन्दा पहिला विज्ञबाट माटो परीक्षण गराउनुपर्छ । इन्जिनियरिङमा त्यसलाई ‘सोइल इन्भेस्टिगेसन’ भनिन्छ । त्यस्तो काम गर्ने इन्जिनियरिङ कन्सल्टेन्सीहरु काठमाण्डुमा प्रसस्त छन् । अहिले पनि माटो परीक्षण रिपोर्ट नभई महानगरले नक्सा पास गर्दैन । तर कतै कमजोर भए पनि मिलाएर अनुमति दिइएको छ । कतै दुई तलाका लागि नक्सा पास गराएर ७ तले घर ठड्याइएको छ । क्षति हुनुको कारण त्यो पनि एउटा हो ।

राजधानीसहित भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण फेरि ठूलो भूकम्प जाने त्रासमा घरबाहिरै रात बिताइरहेका छन् । के अब ढुक्क भएर घरमा सुते हुन्छ ?

पिलरवाला घर छ र पिलर, बीम वा स्ल्यापमा कुनै किसिमको असर देखिएको छैन, घर जमिनमा धसिएको छैन, गारोको एकापट्टिको भागमा मात्र चिरा परेको छ भने बस्दा फरक पर्दैन । तर इट्टा वा ढुंगाको गारोवाला घरमा चिराहरु देखिएको भने सानो धक्काले पनि भत्कन सक्ने हुनाले त्यस्ता घरमा नबस्नु नै राम्रो हुन्छ ।

यदि आफ्नो घर नजिकैको अर्को घर भत्किने अवस्थामा छ भने उक्त घरमा पनि नबस्नु बुद्धिमानी हुन्छ । दक्ष प्राविधिक (सिभिल इन्जिनियर) को परामर्शअनुसार कस्तो घरमा बस्ने र कस्तोमा नबस्ने भन्ने निधो गर्नु राम्रो हुन्छ ।

Earthquake anyliser - deepakraj-bhat

Source: Kathmandu Today

Leave a Reply