जो ज्यान, परिवारको परवाह नगरी खटिएका छन्

भूकम्पले निम्त्याएको क्षतिले देशभर मानिसहरु त्रसित भएर आफ्नो घर परिवार र आफन्तको स्याहार सम्भार र रेखदेख गरिरहेका छन्।

आफन्त गुमाएकाहरु शोकमा छन् भने घरबार गुमाएकाहरु पीडामा डुबेका छन्।

तर देश र जनताको सुरक्षाका लागि भनेर खटिएका सेना र प्रहरीका जवानहरु भने दिनरात नभनी देशको विपदमा आफ्नो शोकलाई शक्तिमा बदलेर काम गरिरहेका छन्।

बीबीसीका दिपक भट्टराईले त्यसरी खटिएका सुरक्षाकर्मीहरुसंग कुरा गरेर तयार पारेको आलेख:

वियोगभन्दा माथि कर्तव्य

आफ्नो ६ महिने छोरासहित सिन्धुपाल्चोकस्थित आफ्नो घर गुमाएका सशस्त्र प्रहरीका जवान कपिल कार्की बुधबार सामाखुसीमा एउटा क्षतिग्रस्त घरमा खटिइरहेका थिए।

भूकम्प आएको दिन उनका बाबु, आमा, भाउजु र छोरा सहितको परिवार घरमै थियो। छोरो बाँचेन, घर बस्नै नहुने गरि भत्कियो। बुढा बाबुआमाको बास नजिकैको बारीमा भएको छ। एउटा भएकी भाउजु पनि बितिन्। आर्थिक जोहो गर्न विदेश गएका दाइलाई भाउजुको वियोगको खबर उनले दिएका छैनन्।

“दाइलाई पीर हुन्छ भनेर हामीले खबर गरेका छैनौं, घर भत्किएपछिको विपदमा बुढा बाबुआमा र श्रीमतीमात्रै बारीको वास गरेर बसिरहेका छन्। म यहाँबाट उनीहरुको आँशु पुछ्न जान पाएको छैन,” कार्कीले भने।

उनको मात्रै होइन उनको घर भएको शिखरपुर गाउँको २९ वटा घर नै भत्किए। सबैको हालत उस्तै छ। तर भूकम्प गएको भोलिपल्टदेखि कसैसँग फोनमा खोजखबर हुन पाएको छैन।

आफ्नो व्यक्तिगत पीडालाई लुकाएर जनताको हितमा काम गर्दैगर्दा उनको टोलीले सतुंगलबाट जिउँदै मानिसलाई पनि उद्धार गरे। भत्किएका धेरै भवनहरुबाट लाशहरु निकाले।

आफ्नै पीडालाई दबाएर यसरी खट्न उनीहरुलाई के ले प्रेरित गर्छ?

“आपत नपरुञ्जेल देशले हामीलाई पाल्यो, अहिले देशलाई पर्दा हामीले पनि गर्नुप-यो नि होइन?,” उनले उल्टै प्रश्न गरे।

उद्धारमा खटिँदा खानाको ठेगान छैन। बिहानै ६ बजे खाना खाएर निस्किएका उनीजस्ता थुप्रै सशस्त्र प्रहरी र सेना उद्धारको काममा उत्तिनै दत्तचित्त भएर लागेका छन्।

कतिपय भवनमा छिर्दा त आफैलाइ केही हुने हो कि भन्ने जोखिम पनि उत्तिनै हुन्छ।

काठमाडौंका धेरै भत्किएर प्रवेश गर्ने ठाउँ नै नभएका ठूला घरहरुमा त सेनाले सिमेन्टको कन्क्रिट फोड्दै त्यहाँबाट भित्र पस्दै मानिसहरुको उद्धार गरिरहेका छन्।

“कतिपटक त आफैँ मरिन्छ कि भन्ने पनि कम्ति डर हुँदैन, तर पनि हामी जोखिम मोलेर आफ्नो पीडालाई बिर्सेर मानिसहरुको उद्धार गरिरहेका छौं,” उनले भने।

समर्पण

सशस्त्र प्रहरी र सेनाले उपत्यकाभित्र र बाहिरका धेरै जिल्लामा भूकम्प गएको छैठौं दिनसम्म पनि कतिपय मानिसहरुको जीवितै उद्धार गरिरहेका खबरहरु आएका छन्।

सशस्त्र प्रहरीका कपिल मात्रै होइन सेनाका जवानहरु पनि घर परिवार र आफन्तमा पुगेको मानवीय र भौतिक क्षतिलाई बिर्सेर उद्धारमा खटिएका छन्। त्यस्तै एक जवान हुन्, सिन्धुपाल्चोककै ज्यामिरे गाउँका किरण बस्नेत।

उनको घर भत्कियो, बाबुआमा र बहिनीहरु घरबाहिर बारीमा वास बनाएर बसेका छन्। केही आफन्तको ज्यान गयो। घटनाको भोलिपल्टदेखि फोनमा कुरा हुन पाएको छैन।

किरण बस्नेत भन्छन्, “मानिसहरुलाई नेपाली सेनाको भर हुन्छ। त्यसैले उद्धारमा खटिएको छु”

तर उनीहरु आफ्नै ज्यान लिने हो कि भन्ने जस्ता साँघुरा ओडारभित्र पसेर आपतमा परेका मानिसहरुको उद्धार गरिरहेका छन्।

“कहिलेकाहिँ त त्यहाँ आफैँ परिन्छ कि भन्ने पनि डर लाग्छ। तर गर्व पनि लाग्छ, विदेशीहरु आफैँले गर्न नसकेको उद्धार हामीले गरिरहेका छौं। कति जीवित मानिसलाई बचाएका छौं,” बस्नेतले भने।

उनले गोंगबुको एउटा पाँच तले भत्किएको घरको चेपबाट गएर सानो बालकलाई बचाउँदा ठूलो खुसी मिलेको बताए।

“हुन त आफ्नै घरपरिवारलाई भूकम्पले त्यति धेरै क्षति पु-याएको बेला उनीहरुको याद नआउने होइन। बेलुका सुत्ने बेला उनीहरुको अवस्था कल्पना गरेर मन कुँडिन्छ। विहान उठ्दा त्यही यादले सताउँछ। तर पनि आफ्नो पेशालाई प्राथमिकता दिनुपर्छ।”

“मानिसहरुलाई नेपाली सेनाको भर हुन्छ. त्यसैले पनि आफ्नो पीडालाई जितेर हामीले उद्धार गर्नुपर्छ,” किरणले भने, “उद्धार गरिरहँदा त आफ्नै कामलाई सफल पार्न पाए हुन्थ्यो भन्ने लाग्छ।”

मन सम्हाल्दै

परिवारका सदस्यले भोगिरहेको पीडालाई समेत बिर्सिने प्रयास गर्दै राष्ट्रिय पीडा कम गर्न दिनरात नभनी अर्को सुरक्षा निकाय पनि खटिइरहेको छ।

परिवारको पीडालाई थाती राखेर प्रहरी हवल्दार कुमार केसी खोज र उद्धारमा जुटेका छन्

नेपाल प्रहरीका हवल्दार कुमार केसी पनि मन सम्हालेरै नुवाकोटको घर सम्झँदै काठमाडौंको माछापोखरीमा उद्धारमा खटिएका थिए।

“तीनवटा घरहरु भत्किएका छन्। बुवा बेहोस हुनुभएको छ। बाटो भत्किएर काठमाडौं पनि ल्याएका छैनौं।” उनले भने, “अरु वरपर पाल हालेर बसिरहेका छन्।”

“घरका दाजुभाइ पनि कामको खोजीमा विदेश गएका छन्। घरमा आमा र सानो बच्चासहित श्रीमती छिन्। यहाँ बस्दा उनीहरुको सम्झनाले नसताउने होइन। श्रीमती, आमाले घर फर्किन भनिरहेका छन्।”

भित्री मन कति दुखेको छ, उनले शब्दमा व्यक्त गर्न सकेनन्। तर पनि उनले यत्ति भने, “यताको उद्धार नसकिँदा सम्म घर जाने छैन।”

Source: BBC Nepali

Leave a Reply