तीन दिन नेपाल बन्द नगर्न भन्दै लेडी जेसिजले गुहार

तीन दिन बन्द नगर्न भन्दै लेडी जेसिजले गुहार

नयाँ बन्ने संविधानमा आफ्ना ऐजेण्डा पार्न विभिन्न संगठनहरु यतिबेला बन्द लगायतका कार्यक्रमहरु गरिरहेका छन्। तर इटहरीस्थित लेडि जेसिजका महिलाहरुलाई भने यतिखेर अर्कै पिरलो छ।

भदौ ४ र ५ मा नेपाल जेसिजको क्षेत्रको सम्मेलन गर्न सबै तयारी पुरा गरिसकेका महिलाहरु बन्दले कार्यक्रम विथोलिने हो कि भन्ने चिन्तामा छन्। आफूहरुले आयोजना गर्न लागेको कार्यक्रमको लागि हल तथा होटल बुकिङ, प्रमाणपत्र, स्मारिका छपाइ लगायतका सबै काम सम्पन्न भएको र कुल खर्चमध्ये तीन चौथाइ खर्च गरिसकेको अवस्थामा कार्यक्रम नहोला कि भनेर उनीहरुले पत्रकार र आन्दोलनरत् पक्ष गुहारेका छन्।

‘महिलाहरुको प्रयासमा पहिलो पटक इटहरीमा यति ठूलो कार्यक्रम आयोजना गर्न लागेका छौं,’ सम्मेलनकी निर्देशक जानुका भट्टराई थापाले भनिन्, ‘कार्यक्रममा अवरोध भयो भने त हाम्रो सारा लगानी र मेहेनत खेर जान्छ।’

उनले यातायात बन्द गरिरहेका विभिन्न पक्षहरूसँग भदौ ३, ४ र ५ गते कतैपनि बन्द नगरिदिन आग्रह गरेकी छिन्। कार्यक्रममा नेपालभरीका ३५ भन्दा बढी शाखाका पाँच सय बढी मानिस भेला हुने बताउँदै महिलाहरुको प्रयासलाई सहयोग गर्न आग्रह गरिन्।

‘विभिन्न पक्षहरुसँग छलफल गर्दै आन्दोलनरत् पक्षहरुसँग पनि अनुरोध गर्नेछौं,’ उनले भनिन्, ‘एक वर्षअघि निर्णय भएको र एक महिनादेखि तयारी गरिएको कार्यक्रम अवरुद्ध हुन नदिन सबै सकारात्मक हुन्छन् भन्ने आशा गरेका छौं।’

उक्त तीन दिन बन्दका कुनै कार्यक्रम नगर्ने बारे केन्द्रिय पार्टीहरुसँग समन्वय गर्न जेसिजको केन्द्रीय समितिलाई आग्रह गर्ने र स्थानीय संगठनहरुसँग पनि अनुरोध गर्ने उनीहरुले जनाएका छन्। इटहरी लेडी जेसिज इटहरीमा आफ्नै भवन निर्माण गरेर सक्रियतापूर्वक कार्यक्रमहरु गरिरहेको संस्था हो।

Souce: Seto Pati