नेपालगन्जमा निषेधाज्ञा हटाइयो, चहलपहल बढ्दै

नेपालगन्जमा निषेधाज्ञा हटाइयो, चहलपहल बढ्दै

आरपी सुवेदी
११ भदौ, नेपालगन्ज । जिल्ला प्रशाशन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार विहान साढे ११ बजेदेखि हटाएको छ ।
संयुक्त थरुहट मधेस संघर्ष समिति नेपालगन्जलगायतले आह्वान गरेको अन्दोलनको कारण स्थिति विग्रदै गएकाले नेपालगन्जमा लगाइएको निषेधाज्ञा फिर्ता लिइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले जानकारी दिए । उनले कोहलपुर क्षेत्रमा भने निषेधाज्ञा कायमै रहेको बताए ।

जिल्लाको शान्ति सुव्यवस्था विग्रनलागेको भन्दै स्थानीय प्रशाशनले भदौ ७ गतेदेखि उत्तरमा राँझाचोक, दक्षिणमा जमुनाह, पश्चिममा नन्दनी मिल र पूर्वमा फुलटेक्रा भित्रको चार किल्ला भित्र सभा सम्मेलन, भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

यसैबीच लगातार १६ दिनको बन्दपछि रक्षाबन्धन (राखी) को लागि दुईदिन पसल तथा बजा खुल्दा जनजीवन सहज बन्दै आएको छ । पर्वको लागि किनमेल गर्नेहरुको नेपालगन्ज र कोहलपुर बजारमा चहलपहल बढेको छ ।

आन्दोलनरत दल तथा समूहहरुले पर्वको कारण आवतजावत गर्न सहज पार्दै आन्दोलनको कार्यक्रममा खुकुलोपना ल्याएको कारणले नेपालगन्ज कोहलपुरक्षेत्रमा पसल खुलेका छन् भने यातायातका साधनहरु आंशिक सञ्चालनमा आएका छन् ।

बन्द आह्वानकर्ताहरुले नेपालगन्ज र कोहलपुरमा मोटरसाईकल, ईलेक्ट्रिक रिक्सा, रिक्सालाई पर्व मनाउनका लागि निर्वाध चल्न दिए पनि चारपांग्रेलाई भने निषेध गरेका छन् ।

Source: Online Khabar