पैसा तत्काल उपलब्ध गराऊ: राष्ट्रसंघ

बर्खा याम अगावै अत्यावश्यक सामाग्री सहित भूकम्प प्रभावित मानिसहरुसम्म पुग्नका निम्ति तत्काल पैसा उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ।

गत साता राष्ट्रसंघले तीन महिनाका निम्ति आपतकालीन सेवाका लागि ४२ अर्ब रुपियाँ उपलब्ध गराउन फ्ल्याश अपील जारी गरेको थियो।

त्यसमध्ये हालसम्म केवल दुई अर्ब रुपियाँमात्र प्राप्त भएको उसले जनाएको छ।
चिन्ता

खासगरी प्रभावितहरुका निम्ति टाउको छोप्न पाल, खाद्यवस्तु र अन्य राहत सामाग्री बर्खा लाग्नु अगावै उपलब्ध गराइहाल्न उक्त रकम तत्काल आवश्यक भएपनि अपील गरिएकोमध्ये केवल पाँच प्रतिशत रकम मात्रै आएपछि राष्ट्रसंघका अधिकारीहरुले चिन्ता प्रकट गरेका छन्।

हामीले यहाँ स्थानिय दातृ समुदायसंगपनि प्रयास गर्नेछौं। त्यस्तै हामीले मुख्यालयबाटै साझेदार संस्थाहरुसंग यी महत्वपूर्ण सामाग्रीका लागि यो महत्वपूर्ण अवधिमा अतिरिक्त सहयोगका लागि प्रोत्साहन गर्न थाल्नेछौं
जेइमी मकगोल्डरिक, नेपालका निम्ति राष्ट्रसंघका मानवीय सहायता समन्वयकर्ता

नेपालका निम्ति राष्ट्रसंघका मानवीय सहायता समन्वयकर्ता जेइमी मकगोल्डरिकले भने, “यदी हामीले आपतकालीन अभियान सफलतापूर्वक गर्ने हो भने उपलब्ध गराइएको यो रकम बढाइहाल्नु जरुरी छ। त्यसमाथि हामीसंग समय पनि निकै कम छ किनकि बर्खा लाग्न लागिसक्यो र त्यो अगावै हामीले दुर्गम र उच्च पहाडी क्षेत्रमा हाम्रा सेवा पुर्याइसक्नु पर्छ।”

गत साता जिनेभाबाट जारी गरिएको उक्त अपील अनुसार रकम नआएपछि अब राष्ट्रसंघले स्थानिय तहबाट अनि उसको मुख्यालयको तहबाट पुन: त्यसका निम्ति प्रयास गर्ने बताइएको छ।

“हामीले यहाँ स्थानिय दातृ समुदायसंग पनि प्रयास गर्नेछौं। त्यस्तै हामीले मुख्यालयबाटै साझेदार संस्थाहरुसंग यी महत्वपूर्ण सामाग्रीका लागि यो महत्वपूर्ण अवधिमा अतिरिक्त सहयोगका लागि प्रोत्साहन गर्न थाल्नेछौं,” मकगोल्डरिकले भने।

सरकारसंग दाताहरुको समन्वय अभाव भएको चर्चा चल्दै गर्दा राष्ट्रसंघले भने आफुहरुले राष्ट्रिय तहदेखि जिल्लासम्मै स्थापित सरकारी निकायहरुसंग राम्ररी मिलेर राहतको कार्य गरिरहेको जनाएको छ।

Souce: BBC

Leave a Reply