भारतीय दूतावास घेर्नुभन्दा तातोपानीमा ढुंगा पन्छाउन जाऔं

रामशरणले रोके तातोपानी नाका खुलाउने बजेट

११ असोज, काठमाडौं । पत्रकार टीकाराम राईले सोमबार बिहानै अनलाइनखबरमा फोन गरेर भने- ‘अखिलका भाइबहिनीहरु कता गए ? तातोपानी नाकामा पुगेर ढुंगा पन्छाउन लगाउनुपर्‍यो, तत्कालै बाटो खोल्न सकिन्छ ।’

राईले आफ्नो फेसबुकमा स्टाटससमेत लेखेर भनेका छन्- ‘तातोपानी नाका खोल्न तत्कालै नेपाल सरकारलाई दबाव दिऔं । हामीले सामाजिक सञ्जालमा भारतविरुद्ध गफिएर बस्नुभन्दा तातोपानीमा गएर बाटोका अवरोध हटाउन योगदान गरौं ।’

राईले अनलाइनखबरसँग फोनमा भने- ‘तातोपानी नाका खोल्ने कार्यमा अर्थमन्त्री डा. रामशरण महतले नै बजेट रोकेर राखेको पाइयो, त्यसैले सरकारलाई दबाव दिनुपर्ने भयो ।’

त्यस्तै अर्का बरिष्ठ पत्रकार तीर्थ कोइरालाले फेसबुकमा स्टाटस लेखेर सुझाव दिएका छन् -‘भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गर्नुभन्दा तातोपानी र स्याफ्रुबेंसीका सडकमा ढुंगा पन्छाउन जानुले नेपाल र नेपालीको हित गर्छ ।’

चार-पाँच दिनमै खोल्न सकिन्छ तातोपानी

भारतले दक्षिणी सीमानामा नाकाबन्दी गरिरहेका बेला चीनसँगको सीमा जोडिएको तातोपानी भूकम्पदेखि अहिलेेसम्म पहिरोका मारमा परिरहेको छ । सबैले जुटेर सडकको अवरोध हटाएमा पाँच दिनमा सडक खुलाउन सकिने इञ्जिनियर र स्थानीय बताउँछन् ।

चीन सरकारले नाका खोल्न सहमति जनाइरहेको अवस्थामा पनि पहिरोले सडक पुरेका कारण चीनसँगको बाटो अवरुद्ध हुँदै आएको छ ।

केरुङ नाका जोड्न केही समय लाग्ने भए पनि तातोपानी नाका खोल्न दुई-चार दिनमै सकिने भए पनि सरकार र राजनीतिक दलहरुले यसमा ध्यान दिएका छैनन् ।

सिन्धुपाल्चोकको बाह्रबीसेसम्म गाडी चलिरहेका छन् । बाह्रबीसेदेखि तातोपानी, लिपिङसम्मको २६ किलोमिटर सडकमध्ये १६ किलोमिटर खुलिसकेको छ । बाँकी १० किलोमिटरमा मात्रै पहिरोको अवरोध छ ।

अहिले त्यहाँ पाँचवटा डोजरले काम गरिरहे पनि अर्थमन्त्रालयले नियमित बजेटसमेत निकासा गर्न नमान्दा समस्या परेको स्थानीय बताउँछन् ।

अवरोध खुलाउन बाँकी रहेको १० किलोमिटर सडकमा केही ठाउँ पहिरो पन्छाउनुपर्ने छ भने कतिपय ठाउँमा ढुंगामात्रै पन्छाए पुग्ने स्थिति छ । काठमाडौंका युवा विद्यार्थीहरु जाने हो भने श्रमदानबाटै पनि धेरै अवरोध हटाउन सकिने त्यहाँ कार्यरत इञ्जिनियरहरु र कामदारहरु बताउँछन् ।

स्रोतका अनुसार नयाँ पुलको आइतबारे, झ्यालेको भीर, डाक्लाङको तीनकिलो, झिर्पुको ८ र १० किलो, खोराङकुना, घण्टेकुला, लिपिङ बजार लगायतका कतिपय ठाउँमा चाँहि नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ ।

भूकम्पपछि चीनले मितेरी पुलसम्मको बाटो क्लियर गरिरहेको छ । चिनियाँहरुले नेपालतर्फको केही भागमा समेत अवरोध पन्छाउन मद्दत गरेको भए पनि नेपाल सरकारको बेवास्ताका कारण भूकम्प गएको ६ महिनासम्म १० किलोमिटर सडकको अवरोध पन्छाएर चिनियाँ नाका सुचारु गर्न सकिएको छैन ।

चिनियाँ नाका सुचारु गर्नेबारे चिनियाँतर्फबाट अवरोध छैन । एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर नाका सुचारु गर्न भनेका छन् । तर, दबावचाँहि प्रचण्डले नेपाल सरकारलाई दिनुपर्ने र तातोपानीमा वाइसीएल परिचालन गर्नुपर्ने जरुरी देखिएको सूत्रहरु बताउँछन् ।
Source: Online Khabar